बिहानको रेडियो प्रस्तुति सकेर प्रसार-कक्षबाट निस्कँदा
ढोकैमा भेटिएका समाचारवाचक सहकर्मी सचेत गराउँदै थिए “मुसलधारे पानी
पर्ने रिपोर्ट छ। चाँडै घर जानोस्।” सवारीसाधन अतिथिहरुको ओसारपसार मै व्यस्त रहेकोले बिकल्प
नसुझेसम्म अफिस मै बस्ने निधो के गरेको थिएँ, बुबाको मेसेज आयो
– ‘गोरी, पानी पर्छ रे। म लिन आउँदै छु। कतै नजानु।
जीवनभर संचित पसिनादाना खर्चेर बुबाले
एउटा गाडी किन्नु भएको लगत्तै छोरीको बिवाह परेको थियो। एक साधारण वकिलको कमाईले
यो खर्चको परिणामी क्षति मेरो माईतीघरले झेल्नु पर्ने यथार्थलाई मैले बुझेको छु। सन्तानको जीतको लागि आफ्नो सबै कुरा हार्ने
यस्ता बुबाहरुलाई मेरो सलाम।
पानी छिट्टय्याउन थाल्यो, बुबा लिन आउनु
भयो। ‘आज घनघोर पानी पर्छ रे। भोलि जनैपूर्णे छ। ज्वाईँ घरमा हुनहुन्न भने २-४ घण्टा यतै बस्न
मिल्छ?’ मैले सहमति सूचक मुन्टो हल्लाएँ। गाडी पुल्चोकको दमकल हुँदै लगनखेलतर्फ
मोडियो। सातदोबाटोको घुइँचोमा हामी अड्कियौं।
गत साल १२ बर्ष पछि दोलखा गएको थिएँ। त्यहाँ
बुबाको जन्मस्थान छ र त्यहीको धुलीमाटीबाट उठेर बुबाले हामीलाई यहाँसम्म
डोर्याउनु भएको हो। राष्ट्रपतिको समूहमा सामेल हुँदै महायज्ञ उद्घाटन समारोह
कार्यक्रमको संचालक भएर जाँदा बुबा असाध्यै खुसी हुनुभएको थियो।
हामी कोटेश्वर आइपुग्यौं। कक्षा 2 मा पढ्दा ‘हवाइजहाज’ देखाउन बुबाले मलाई
यहाँ ल्याउनु भएको हो। आफ्नो शिर माथिबाट उडेको त्यस्तो भीमकाय ‘प्लेन’ देखेर छक्क
पर्थें। स्वर्गमा तैरिएका देवी देवता त टि.भी.मा देखिन्थे।
कथाहरुमा राजकुमारहरु राजकुमारीहरुलाई वायुयानमा घुमाउन लैजान्थे। बालसुलभ मस्तिष्कमा
भरिएका यस्ता लोकगाथाहरुकै प्रभाव हुन पर्छ मलाई पनि ‘हवाइजहाज’ चढेर संसार सयर गर्ने अभिलाषाको बिजारोपण त्यसै
बखत भएको थियो। गत बर्ष अमेरीका प्रस्थान गर्नेक्रममा ‘हवाइजहाज’ले भुइँ छोडदा
बुबालाई झलझली सम्झेको थिएँ।
मैले शुरुका दिनहरु सम्झिए, आफ्ना बाल्यकालका दिनहरु। मलाई पुतलीको
बिवाह गराउने खेल कहिल्यै मन परेन बरु भाँडाकुटी खेल्थें। त्यो पनि बहिनीसँग। स्कूलको
पहिलो दिन बुबाले नै पुर्याउन भएको थियो। म खूबै रोँए। ज्ञानेश्वरको ‘ईन्टरनेशनल
प्राइमरी स्कूल’की प्रधानअध्यापिका पद्मा पाण्डेले मलाई बोकेर घुमाउनु
हुन्थ्यो। म फक्किहाल्थें।
हरेक बिषयका पुस्तकहरुले मलाई आकर्षण
गर्थ्यो। एक पटक सानीआमाको सानो पुस्तकालयमै तीन रात बिताएँ। वहाँले घरमा कुरा
लगाई दिनु भो - छोरीलाई त एउटा बन्द
कोठामा किताबको ह्रास लगाएर छोडिदियो भने अरु केही पनि चाहिदैन।
श्रीपंचमी तिथिमा जन्मेको नाममा पुल्पुल्याकै
कारण होला मेरो अर्धचेतन मनमा पढ्नु पर्छ भन्ने भाव गढेको छ।
मनशाय बझेर
बुबाले केही प्रबन्ध गरिदिनु भयो। सार्है लोकप्रिय बालपत्रिका मुनाको ग्राहक बनियो। घरमा ठ्याक्कै एकमहिना
को अन्तरालमा मुना मेरै लागि आइपुग्थ्यो। एउटा महिना त बिहानै
आउनु पर्ने मुना आएन। बुबाले साँझ अफिस बाट फर्कदा किनेर ल्याउने आश्वासन पाएपछि सान्त्वना
मिलेको थियो। तर पनि दिनभर पढ्न नपाएकोले खुत्रुक्के बाट पांच रुपैया निकालेर
पत्रिका आफै किनेर ल्याँए। दिउँसो बुबालाई फोन गरेर छिट्टै पत्रिका ल्याउनु पनि भने। मलाई लाग्थ्यो ठाउँ पिच्छे मुना फरक फरक निस्कन्छ र भित्रका सामग्री पनि बेग्लैबेग्लै होलान्।
आफूले किनेको त पढियो अब बुबाले ल्याउने मुना पढ्न आतुर थिएँ तर पछि पो दुवै उस्तै
देखेर दु:खी भएँ।
मेरा विद्यार्थीहरुको मौखिक परीक्षाका लागि आउनु भएका मुनाका प्रथम सम्पादक लक्ष्मीनाथ शर्मासँग अध्यापकको
हैसियतले भेट भएका बखत बाल्यकालका मेरा हर्कत सुनाएँ। हाँसोको फोहरा फुट्यो। नसोचेको तर मीठो भेटघाटले मलाई फेरी बाल्यकाल कै धेरै कुराहरुको
याद दिलायो।
म महेन्द्र भवनमा पढ्थें। कक्षा ८ का विद्यार्थीहरुले हरेक दिन बिहानी प्रार्थना
लगत्तै एकएक जनाले सबै सामु आएर एउटा बिषयमा आफ्नो वक्तृत्वकला प्रस्तुत गर्नुपर्ने भयो। मैले “आमा” बिषयमा बोल्न
पर्ने। असाध्यै डराउने मान्छे तर जसोतसो आफ्नो पालो पुर्याएँ। थोरै ताली पाइयो अनि तीन सय रुपैया पुरस्कार पनि। खामभित्रको पुरस्कार
दौडदै घर आएर बुबालाई दिए। त्यही बोलेका कुरा स्कूलको पत्रिकामा पनि पुरस्कृत भनेर छापिदा बाऊ-छोरी-आमा तीनै दङ्ग पर्यौ। हरेक पीडामा
पुकारिने आमाप्रति समर्पित यही नै मेरो पहिलो पुरस्कार थियो।
एक पटक स्कूलमै हुँदा साङ्गीतिक समूह
खोल्ने लहडी काम पनि गरियो। हाम्रो ब्याण्डको नाम “गूड गर्लस्” अर्थात असल
केटीहरु। हामी ८ जना थियौं। एस. एल. सी. पछि सबै आफ्नो आफ्नो बाटो लागे। म व्यवस्थापन संकायतर्फ
लागें अरुले बिज्ञान बिषय चुने। आधाजसो त अमेरीका मै छन्। सामाजिक संजालहरुमार्फत्
भेटघाट हुन्छ। सबैभन्दा पुरानो साथीमा चन्दा दवाडी निरन्तर सम्पर्कमा रहे पनि
सात समुन्द्र पार नै छिन्। बिवाहमा बोलाउन नपाउँदा खिन्न लागेको छ।
सानैमा, अभिभावक दिवसको
दिन सँगै नाच्नुपर्ने एक जना केटाले मलाई रिस उठाए पछि अभिनयको बहानामा उसको कान
बेस्कन निमोठेको सम्झँदा अहिले पनि हाँसो उठ्छ।
यतिबेलासम्म गाडी तीनकुनेबाट घरतर्फ
मोडिसकेको थियो। घर छेउको चौरकमा स-साना भाइहरु कराँते खेल्दैछन्। आफ्ना
छोराछोरी तन्दुरुस्त रहुन् भनेर बुबाले मलाई कलात्मक र आत्मरक्षाका लागि
कहलिएको “उस्सू” मा भर्ना गरिदिनु भएको थियो। बिहान उठ्न असाध्यै अल्छी
लाग्ने तर अब चाँडै उठ्न थालें। एकाबिहानै पूजापाठ सकाउने मेरी आमा छोरी चाँडै
उठेको देखेर दङ्ग। तर सिकाउने गुरु चै बिवाह गरेर अन्तै सरेका कारणले त्यो सपना
अधुरै रह्यो।
घर आइपुग्यो! आमा बाटो
हेरेर बस्नु भएको रहेछ। वरपरका कुकुरहरु भुक्न थाले। यी सबै मलाई आफ्नै जस्ता
लाग्छन्। धूपदानको खरानी ताजै छ। यसको मतलव पूजापाठ भर्खरै सकियो। कोठाहरु मग्मगाएका
छन्। यो घरमा म हुर्किएको हुँ।
बहिनीको कोठा कानुनका किताबले भरिएका छन्।
बहिनी जन्मदा आमा बुबाको माया बाँडिने भो
भनेर खूब रोएको थिएँ रे। छोरीले चित्त दु:खाएको देखेरै
होला, बुबा राती मेरो सिरानमा चकलेटहरु राखिदिनु हुन्थ्यो। म दङ्ग पर्थे, सबै भुल्थें।
आज मेरी बहिनी हितैषी मित्र बनेकी छे। पत्रपत्रिकासँग उसको पनि साईनो छ। हाम्रो
कुरा मिल्छ। उसको कोठामा अंग्रजी पत्रिका
छरपष्ट छन्। अंग्रजी दैनिक द राइजिंग नेपालमा मेरा आखाँ अडिए।
सानैमा, द राइजिंग नेपालको बाल-संस्करणका लागि
आधा दर्जन लेख लेखियो तर कहिल्यै प्रकाशित भएन। राष्ट्रिय पत्रिकामा
लेख छापिएको हेर्ने मेरो आशा अधुरै रह्यो। सायद यसैको चोटले होला श्रोताका लेख रचना
प्रसारणमा कुनै कमजोरी नरहोस् भन्नेमा म आज पनि सचेत छु।
एकचोटी अंग्रेजी ग्रामाले (हामीले गुरुआमा
लाई बिगारेर ग्रामा भन्न थालेका थियौ) मलाई किताब भित्र वेभ पत्रिका पढ्दै गरेको
भेट्टाएर त्यही पत्रिकाका केहि पन्ना उच्च स्वरले पढन लगाउनु भएको थियो। पाउन त सजाय पाएको तर सानै देखि रेडियोमा बोल्छु भन्ने उद्यश्य लिएको, त्यसरी अंग्रेजीमा ठूलो स्वरले पढ्न पाउँदा सजायँ त रोमांचक
पो लाग्यो।
बिस्तारै कलेज पढ्न थालेपछि कक्षा ११ को शुरुमै रेडियोमा
बोल्न थालियो तर छोरीले यति छिटै काम गर्न थालेकोमा बुबालाई चित्त बुझेको थिएन। पढाई सक्नुपर्छ नत्र
पढाई बिग्रन्छ भन्ने बुबालाई लागेको थियो। नभन्दै ११ मा सर्वोतकृष्ट भएको तर १२ मा दोस्रो श्रेणीमा झरें। तर जब रेडियो मा राम्रो गर्न थाले,
प्रशंसा बटुल्न थालें, बुबालाई पनि छोरीको कामप्रतिको मोहको लागि गुनासो
कम हुनथाल्यो। त्यतिबेला वहाँले मेरा रेडियो कार्यक्रमलाई किनेर ल्याएका किताबहरु/पत्रपत्रिकाहरु
मसँग अझै सुरक्षित छन्।
बुबाको कोठामा संकलित पत्रिकाहरुका पानामा
मेरो इतिहाँस लुकेको छ। त्यहाँ सजिएका पुस्तकहरु हाम्रो दिनचर्याका साक्षी हुन्।
आज बुबाको अनुमतिमा केही पुस्तकहरु आफ्नो घर लैजादै छु। तिनै आउने पुस्ताका
पथप्रदर्शक हुन् र त्यहाँ छरिएका वर्णविन्यास, शब्द संकेत र
चिन्हहरु नै नवयुगको शिलास्तम्भ हुन्।
दिनभर हावाहुरी र हुण्डरी चलिरह्यो।
आमाको हातको खाजा खाइयो। बुबा अफिस लाग्नु भयो। भाइ दिउँसो आइपुग्यो। दिनभर आमा
छोरीको गफ चलिरह्यो। बेजोडसँग पानी परिरह्यो।
अनिल (श्रीमान्) लिन आउँदा
खुलिसकेको आकाश र साँझ गोधुलिमय थियो।
...कस्तो कौतुहलताको साथ पढिरहेको थिए तपाईको स्टोरी, सकिई पो सकेछ! धन्यबाद दिदि अझै अरु धेरै तपाईको लेख पढ्न पाऊ है त। कान्तीपुर रेडियोको ९ औ बार्षिक उत्सबमा तपाईलाई पहिलो चोटि मैले भेट्दा अलिकति डर अनि त्यो भन्दा धेरै खुशी मैले महशुस गरेको थिए। त्यो बेला सबै साथीहरुलाई बिर्सिएर तपाईलाई खोजिरहेको थिए म। जब तपाईसँग केहि तस्बिरहरु लिने मौका पाए त्यस पछि त झन मेरो खुशीको सीमा नै रहेन अझै सुरक्षित छन् म सँग ति तस्बिरहरु।।।
ReplyDeletevery sweet.. thank you Aakash.
DeleteMy Pleasure...Most welcome di.
Delete:)
ReplyDeleteWords arent just enough to say how I feel when I listen to you. Yes, you were narrating your story inside my head. And all I could do was :).
Best wishes. Hope I can listen u again and again.
very pure expression :)
ReplyDelete