Total Pageviews

Tuesday, July 2, 2013

जीवनको पहिलो कमाई।

हाम्रो सुत्ने कोठाको छेउमा नै पूजाकोठा थियो। बिहानै रेडियोमा दाहाल यज्ञनिधिले जदौ भनेर सार्है मिठो आवाज र अन्दाजमा साहित्य संसार चलाइरहँदा आमाले बालेको धूपको धुवाँले सुत्न गाह्रो हुँदा पनि यो त भगवानको धुवाँ हो यसले हानि गर्दैन भन्ने मेरो बालमस्तिष्कको सोचाई थियो। त्यतिबेला नत अहिले झैं बडेमानका टिभी, नत रिमोट कसको हातमा भन्ने प्रतिस्पर्धा नै

मेरो भाई अस्ति असार ९ गते २५ लाग्यो, बुवाले त्यो ब्लाक एन व्याइट १४ इन्ची टिभी घरमा भित्राएको पनि त्यतिनै लागेछ। टिभीको कीरा थिए म, अनि त्यहि भाड़ो भित्र पसुंला कि झैं नजिकै बसेर हेर्नपर्ने बानी थियो त्यसैले कक्षा २ मै पावरवाला मोटो चश्मा डाक्टरले भिराइदिए। त्यतिबेला टिभीमा अरु च्यानल आउने भनेको सपना झैं थियो। छतमाथिको त्यो एन्टिना अनि टिभीमा जोडिएको तारलाई हामीले कुन आकारमा कतिमात्रै बंगायेनौ होला र। विक्रमले (काकाको छोरा) त हे दोलखा भीमसेन भनेर भाकल पनि राखेको थियो तर हरसम्भव प्रयास गर्दा नि च्यानल नआएपछि  उसले भाकल पूरा गर्नपर्ने अवस्था नै आएन। 


Sorry for the pic quality but can't find a better one :)
मेरो भाई अनि म (background
मा 
चाहि त्यहि टिभी)

सन्तोष पन्तको एउटा टिभी सिरियलको एउटा सिनले मलाई निकै प्रभाव पारेको थियो। नाम त याद आएन, सिन चाहिँ कस्तो भने सुस्तमनिस्थिति भएका सन्तोष पन्तलाई उनकी भाउजुले अफिसबाट घर फर्किदा जहिले मीठा चकलेट किनेर ल्याईदिन्थिन्। 

 हुनत सानैदेखि चकलेट भनेपछि कहिलेकाही राति धेरै ढिला घर आउँदा पनि दुवै छोरीहरुको सिरानीमा आमाले थाहा नपाउने गरि खुसुक्क दुईवटा भएपनि राखिदिने बुवाको बानी थियो अनि यता छोरीहरुका दांत बिग्रने भए भन्ने आमाको चिन्ता थियो। दाँत नबिग्रुन भनेर घरमा नफुकाली वीर हस्पिटलमा लामो लाइन लागेर आमाले मलाई सँगै लानुहुन्थ्यो तर स्याउप्रेमी छोरीलाई डाक्टरले बेलुका घर नपुगी केहि नखानु भन्दा पनि बाटोमै स्याउ किनेर बेस्मारी चपाउनै पर्थ्यो।   

नभन्दै बिस्तारै मेरा दाँत त फुकालेपछि फेरि पलाउदा ओवर एक्टिव भएर अगाडी आए बा। बुवाले पाटन हस्पिटल लगेर त्यतिबेला ५१०० तिरेर दिनभर लगाउने सुत्नेबेला फुकाल्ने तार लगाइदिएको पनि हो। तर त्यतिबेला मलाई जति लाज त कसलाई पो लाग्थ्यो होला र। ठूलो सलले टाउको, नाक, मुख छोपेर बुवाको बाइक पछाडि बसेर हस्पिटलबाट घर फर्किएपछि डाक्टरले भने भन्दा ठ्याक्कै विपरित गर्नथाले। सुत्नु अगाडि लगाउथे, बिहानै खोलिहाल्थे। त्योपनि नियमित गरेको भए त केहि हुन्थ्यो कि तर केहि हप्ता पछि त्यो तार मेरो दराजको लकरमा भेटिन थाल्यो। अझै पनि त्यो मसँग सुरक्षित छ। यसो कहिलेकाही सम्झनाको पोको खोल्दा, विगतलाई केलाउदा मजा आउंछ नि हैन।।     

दाँत कै प्रसङ्गमा केहि वर्ष अगाडि नाम चलेको orthodontics कहाँ पुगे। चारवटा दाँत निकाल्नुपर्छ, ५० हजार लाग्छ, २ वर्षपछि ठ्याक्कै दाँत भित्र जान्छ भन्ने सुनेर गएकी थिए। तर विदेशबाट पढेर आएकी, निकै अनुभवी उनले भनिन्- तिमी उपचार नगर। यहि नै तिम्रो सौन्दर्य हो। मान्छेको imperfection नै मा उसको beauty लुकेको हुन्छ। यो तिम्रो मन को डर मात्र हो। मन खोलेर हाँस, तिम्रो मुस्कान राम्रो छ।त्यो कुराले वास्तव मै मलाई यसरी छोयो कि म प्रभावित भए र फोटोहरु खिच्दा पनि दिल खोलेर हाँस्न थाँले।      

हुनत दुई वर्ष तार लगाउने, दाँत परफेक्ट बनाएपछि के के गर्छु भन्ने मेरो एक खालको सपना थियो। यो जूनीमा त अधूरै रह्यो। हुनपनि त सबै सपना भने झैं पूरा भए अर्थ पनि त हुँदैन थियो होला अभावको, चाहको, आशाको।



who will look not good when he or she smiles :)


सन्तोष पन्तको टिभी सिरियलमा त्यो सिन हेरेर मैले पनि कमाउने भैसकेपछि हरेकदिन घर फ़र्कदा महंगा चकलेट अनि अरु धेरै मिठा खाने कुरा किन्छु भन्ने सपना आफ्नो बाल्यकालमा साँची सकेकी थिए।

मेरो जीवनमा पुरस्कारबाट हात लागेको पहिलो कमाई ३०० रुपैंया। कक्षा आठमा हुँदा स्कूलले नयाँ नियम ल्यायो। बिहान राष्ट्रगान पछि कक्षा ८, ९, १० का बिद्यार्थीले एउटा शीर्षकमा हरेक दिन हरेक कक्षाका एकजनाले अगाडि आएर बोल्नपर्ने भयो। मैले mother भन्ने शीर्षकमा तीन हरफ कण्ठ पारेर बोलेकी थिए, पुरस्कार स्वरूप ३०० रुपैंया पाए। हतार हतार घर आएर बुवाको हातमा राखिदिदा, आमाको मुहारमा त्यो खुशी देख्दा लाग्यो, मान्छे सबै भन्दा हर्षित उसको सन्तानको सफलतामा हुन्छ, चाहे त्यो जति ठूलो होस् या सानो सफलता नै किन नहोस् ।         





मेरो बुवा सानैमा गाउँबाट एक्लै राजधानी आएर, दुख गरेर आफैं पढेर अधिवक्ता भएको मानिस हुनुहुन्थ्यो। हुनत बाबुहरूलाई खासै मनपर्दैन कि के हो आफ्ना दुखका, संघर्षका दिनहरु आफ्ना सन्तानलाई सुनाउन। मेरो बुवाले प्रसंगबश आक्कलझुक्कल आएका ती अनुभवहरु सुनाउदा म भावुक हुन्थे। कहिले पनि अभाव के हो भनेर सन्तानलाई महशुस नगराएका ती बाबुलाई म आफ्नो आदर्श व्यक्ति मानेर मनमनै सलाम गर्थे र म छिटै, थोरै भएपनि आर्थिक सहयोग गरेर तपाईंको बोझ अलिकति भएपनि कम गर्छु भन्ने अठोट पनि गर्थ। 
हुनत थोरै मात्रै सन्तानलाई आफ्ना आमाबाबु आदर्श नलाग्ला, बाँकी सबैलाई आफ्ना मातापिता जस्ता अरु कोइपनि छैनन् भन्ने नै त लाग्छ नि।  




SLC सकिएपछि म काम खोज्न थाले। रेडियो मोह त जागिसकेको थियो। बिहानबिहान धोबीधारामा रहेको रेयुकाईमा राम्रो बोल्ने कसरी भन्ने ट्रेनिंग लिनजान्थे। गल्स स्कुल पढेको टोइलेट जान पनि साथी चाहने केटी तर एक्लै हिड्दै लुइलुइ पुग्थे। सायद त्यही होला कहिलेकाही भाग्यले आफैं डोराउछ भनेको। 


एकदिन ट्रेनिंग कै क्रममा सुने कि एउटा स्कूलमा टिचर चाहिएको रहेछ। बिक्रमसँगै त्यो स्कूल पुगे। तिमीले चाहेको सालेरी कति हो भन्ने प्रश्नमा अवाक् भएर यसो विक्रमलाई हेरेको त उसले हातको इशाराले २ देखायो। मैले नि त्यहि भनिदिए। ती प्रिन्सिपलले हाँस्दै भने हामीले अहिले नै टिचरहरुलाई ३५ सय दिरहेका छौं। तिमी सानै छयौ, कलेजको पढाइ बिग्रन्छ भनेर उनले मलाई एउटा इंग्लिश ल्यांग्वेज इन्सीच्युटमा कुरा गर्दिन्छु भनेर पठाइदिए। त्यो स्कूलबाट फर्किनेबेलामा सुरेली, पिङ्ग देख्दा खेल्न जाउँ विक्रम भनेको त- धत् दिज्जु तिमी त यहाँ टिचर बन्न आएको पो, सुहाउदैन अब भन्यो। हुनत जुनै उमेर, ओहदामा पुगेपनि मान्छेको आफूभित्रको त्यो बालापन त कहिले बुढो हुँदैन।



With my college students in college picnic- Teacher & students fun hand on hand :)




Success= 90% attitude+ 10% experience 


 इंग्लिश ल्यांग्वेज इन्सीच्युटमा पुगेपछि यो भर्नुस भनेर मेरो जाँच लिईयो। म पास भए, भोलिबाट एडवान्स इंग्लिश कोर्स ६ जना विद्यार्थीलाई पढाउने जागिर पक्का भयो। कुर्ता सुरुवाल, हिल जुत्ता लगाएर समयमै क्लासमा पुगे। आफ्ना आन्टी उमेरका महिलाले सोधे आजबाटै पढ्न आउनु भएको हो? मैले हैन पढाउन आएको भन्दा चकित परेका उनीहरुलाई मैले एक महिना जति सकिनसकी के के पढाए कुन्नि तर टिचर भएन भन्ने गुनासो आएपछि मेरो जीवनको पहिलो जब तेही टुंगियो। एक महिनाको पारिश्रमिक लिन पनि भोलि भोलि भन्दा भन्दै १३ वर्ष पो बितेछ।

त्यसपछि कक्षा ११ मा भर्ना भइयो। हिजोको कान्तिपुरमा RJ मागेको छ नि पढिस भन्ने प्रश्न सोधेर साथी प्रेक्षाले जीवनमै ठूलो गुन लगाइन्। सँगैमा अर्की साथीलाई पनि रेडियोमा रुचि रहेछ। हामी दुवैजनाले एपलिकेसन लेख्यौं र बुझाउन भनि पुल्चोक हाइट पुग्यौं। बाटो नदेखेर कहाँ कहाँको लामो बाटो हिडेर भएपनि ठाउँमै पुगियो। रिसेप्सनमा भेटिएका चर्चित आसिस स्यांगदेनले- ल गल्स गुड लक्, looking forward to work with you भनेर उनले हामीसंग हात मिलाए। मेरी साथी त दङ्ग परेर अब म हात नै धुन्न भन्न थालिन्।

त्यसको लगतै राज दरबार हत्या काण्ड घटेको थियो। जेष्ठ अन्तिमतिर मलाई इन्टरव्यूको लागि कल आयो तर अर्की साथीलाई बोलाइयन। तीन राउण्ड इन्टरव्यू गरियो। मनकामनाको पूजारी को हुन्, खुर्सानीबारी कहाँ पर्छ, दिउँसो एकबजेको कार्यक्रम चलाएर देखाऊ लगायत अरु प्रश्न पार गरेपछि म कान्तिपुर एफ एमको कार्यक्रम संचालक छानिए। त्यतिबेला ९ जना छानिएका कार्यक्रम संचालक मध्यमा मेरो नाम नम्बर ३ मा परेछ। 

हामीलाई सिधै on air पठाउनु अघि १० दिनको ट्रेनिंग दिएको थियो जुन मेरो जीवनकै एउटा उत्कृष्ट ट्रेनिंग बनेर आयो। तर भर्खर गल्स स्कुल पास, लजालु स्वभाव, घुलमिल छिटै नहुने बानीले अनि ट्रेनिंग मा भेटिएका एक सा एक सहकर्मीहरु देखेर म विचलित भए। मेरो त काम गर्न भ्याउदैन जस्तो छ, म छोड्छु अब भनेर त्यतिबेलाका स्टेशन म्यानेजेर शरद राज गौतमलाई पनि भने। तिमीलाई मिल्ने टाइममा कार्यक्रम दिनेछौं भनेर वहाँले उम्कन दिनुभएन। हुनपनि एउटा हिन्दी विज्ञापनले बारम्बार डर क आगे जीत है भनेझै नौ जनाको लटबाट पहिलो कार्यक्रम संचालन गर्ने जिम्मा मेरो भागमा पर्यो। 

"We lose many things simply out of our fear of losing them." Paulo Coelho


 हेल्लो this is hindi hungama भनेर माइकमा चिच्याएछु, गीत उल्टोपाल्टो बजाएछु। अहिलेपनि त्यो कार्यक्रम संचालन गर्दैछु र कार्यक्रममा भन्ने गरेकी छु- मेरो जीवनको पहिलो कार्यक्रम हिन्दी हंगामा।    

त्यसपछि अर्को महिनाको पाँच गते जीवनकै पहिलो कमाई हात लाग्यो। काम गरेको १६ दिन मात्र भएकोले हिसाब गरेर तलब बुझ्दा लगभग ३५०० हात परेको थियो। पैसा हातमा परेपछि मान्छेको मन न हो त्यसै फुरुङ्ग हुन्छ। दङ्ग पर्दै घर आए। कसैलाई नभनी पैसालाई ब्याग भित्र नै राखिछोडे कारण मलाई बुवालाई देखाउनु थियो, मेरो जीवनको पहिलो कमाई वहाँकै हातमा थमाउनु थियो। नभन्दै बेलुकी घर आएपछि परिवारका सबै सामु आफ्नो जीवनको पहिलो कमाई मैले बुवाको हातमा राखिदिए। हुनत त्यसबाट शुरुको भाग छुटाएर आमाले गणेशलाई धन्यवाद दिनुभयो अनि बाँकी चाहि बुवाले एउटा बैंकमा अकाउन्ट खोलिदिनुभयो तर त्यो पल मलाई लागेको थियो, मान्छेको सफलतामा सबैभन्दा बढी खुशी हुन्छन् उसैकै आमाबाबु।




पहिलो कमाईको कथा सुनाउँदा लगभग १२ वर्ष बितिसकेछ। यी वर्षहरुमा मैले अरुपनि केहि कामहरु गरे। website editor, college lecturer & coordinator, PR Manager, MC, voice over for ads & documentaries, radio trainer, radio shift-in-charge, social campaign founder member etc. 

धेरथोर खर्च गरियो, धेरथोर सांचियो। हुनत what you save is your real earning भनिन्छ। तर आगामी दिनका लागि यति आशा कि पैसाकै लागि कहिले बढ्ता महत्वकाक्षी हुन नपरोस्। कर्मले अनि मेहनतको कमाईले सधैं गरिखान सकियोस्। समाजमा आफ्नो परिवारको शिर सधैं शानले ठडयाउन सकियोस्। त्यो कमाई जीवनकै अमूल्य कमाई रहिरहनेछ सदा सदा। 




Saturday, September 15, 2012

बुबा, पत्रपत्रिका र म




बिहानको रेडियो प्रस्‍तुति सकेर प्रसार­-कक्षबाट निस्‍कँदा ढोकैमा भेटिएका समाचारवाचक सहकर्मी सचेत गराउँदै थिए मुसलधारे पानी पर्ने रिपोर्ट छ। चाँडै घर जानोस्। सवारीसाधन अतिथिहरुको ओसारपसार मै व्‍यस्‍त रहेकोले बिकल्‍प नसुझेसम्‍म अफिस मै बस्‍ने निधो के गरेको थिएँ, बुबाको मेसेज आयो – ‘गोरी,  पानी पर्छ रे। म लिन आउँदै छु। कतै नजानु।

जीवनभर संचित पसिनादाना खर्चेर बुबाले एउटा गाडी किन्नु भएको लगत्‍तै छोरीको बिवाह परेको थियो। एक साधारण वकिलको कमाईले यो खर्चको परिणामी क्षति मेरो माईतीघरले झेल्‍नु पर्ने यथार्थलाई मैले बुझेको छु।  सन्‍तानको जीतको लागि आफ्‍नो सबै कुरा हार्ने यस्‍ता बुबाहरुलाई मेरो सलाम।

पानी छिट्टय्‍याउन थाल्‍यो, बुबा लिन आउनु भयो। आज घनघोर पानी पर्छ रे। भोलि जनैपूर्णे छ। ज्‍वाईँ घरमा हुनहुन्‍न भने २-४ घण्‍टा यतै बस्‍न मिल्‍छ?मैले सहमति सूचक मुन्‍टो हल्‍लाएँ। गाडी पुल्‍चोकको दमकल हुँदै लगनखेलतर्फ मोडियो। सातदोबाटोको घुइँचोमा हामी अड्कियौं।

 सानै छँदा साइकलको अगाडि पछाडि राखेर रिङ्गरोड घुमाउन लैजानुहुन्‍थ्‍यो। हामी दङ्ग पर्थौं। पानी पर्दा रुखमुन्‍तिर ओत लाग्‍न पर्थ्‍यो। पानीमा भिज्‍न खूबै मज्‍जा तर बुबाको सामुन्ने त्‍यो अवसर मिल्‍ने कुरै भएन। झमझम पानीमा आफू चिसाम्‍य बनेर बुबाले हामीलाई सँधै न्‍यानो दिनुभो। आकास गर्जिदाँ, वहाँका पाखुरा भन्‍दा मजबुत कुनै सहारा थिएन। बिजुली चम्‍‍कँदा, बुबाका गोडा भन्‍दा भरपर्दा कुनै खम्‍बा थिएनन्। वास्‍तवमा, जीवनका हरेक आरोह अवरोहहरु एउटा गन्‍तव्‍यमा गएर टुङ्गिन्‍छन्। दु:ख या सुख सबैको आयु छोटो हुन्‍छ। माया, प्रेम र संस्‍कार भने दीर्घकालीन। सदावहार रहन्‍छ मातृ र पितृ स्‍नेह। आमा बुबा भन्‍दा दरिलो अर्को अडेसो हुन सक्‍दैन।

गत साल १२ बर्ष पछि दोलखा गएको थिएँ। त्‍यहाँ बुबाको जन्‍मस्‍थान छ र त्‍यहीको धुलीमाटीबाट उठेर बुबाले हामीलाई यहाँसम्‍म डोर्याउनु भएको हो। राष्‍ट्रपतिको समूहमा सामेल हुँदै महायज्ञ उद्घाटन समारोह कार्यक्रमको संचालक भएर जाँदा बुबा असाध्‍यै खुसी हुनुभएको थियो।

हामी कोटेश्‍वर आइपुग्‍यौं। कक्षा 2 मा पढ्दा हवाइजहाज देखाउन बुबाले मलाई यहाँ ल्‍याउनु भएको हो। आफ्‍नो शिर माथिबाट उडेको त्‍यस्‍तो भीमकाय प्‍लेन देखेर छक्क पर्थें। स्‍वर्गमा तैरिएका देवी देवता त टि.भी.मा देखिन्थे। कथाहरुमा राजकुमारहरु राजकुमारीहरुलाई वायुयानमा घुमाउन लैजान्‍थे। बालसुलभ मस्‍तिष्‍कमा भरिएका यस्‍ता लोकगाथाहरुकै प्रभाव हुन पर्छ मलाई पनि हवाइजहाज चढेर संसार सयर गर्ने अभिलाषाको बिजारोपण त्‍यसै बखत भएको थियो। गत बर्ष अमेरीका प्रस्‍थान गर्नेक्रममा हवाइजहाजले भुइँ छोडदा बुबालाई झलझली सम्‍झेको थिएँ।



मैले शुरुका दिनहरु सम्झिए, आफ्ना बाल्यकालका दिनहरु। मलाई पुतलीको बिवाह गराउने खेल कहिल्‍यै मन परेन बरु भाँडाकुटी खेल्‍थें। त्‍यो पनि बहिनीसँग। स्‍कूलको पहिलो दिन बुबाले नै पुर्याउन भएको थियो। म खूबै रोँए। ज्ञानेश्‍वरको ईन्‍टरनेशनल प्राइमरी स्‍कूलकी प्रधानअध्‍यापिका पद्मा पाण्‍डेले मलाई बोकेर घुमाउनु हुन्‍थ्‍यो। म फक्‍किहाल्‍थें।   

हरेक बिषयका पुस्‍तकहरुले मलाई आकर्षण गर्थ्‍यो। एक पटक सानीआमाको सानो पुस्‍तकालयमै तीन रात बिताएँ। वहाँले घरमा कुरा लगाई दिनु भो -  छोरीलाई त एउटा बन्द कोठामा किताबको ह्रास लगाएर छोडिदियो भने अरु केही पनि चाहिदैन

श्रीपंचमी तिथिमा जन्‍मेको नाममा पुल्‍पुल्‍याकै कारण होला मेरो अर्धचेतन मनमा पढ्नु पर्छ भन्‍ने भाव गढेको छ।


हिन्दी, अंग्रेजी, नेपाली पत्रपत्रिका पढ्ने ठूलो शौख। छोरीको यस्‍तो 
मनशाय बझेर बुबाले केही प्रबन्‍ध गरिदिनु भयो। सार्है लोकप्रिय बालपत्रिका मुनाको ग्राहक बनियो। घरमा ठ्याक्कै एकमहिना को अन्तरालमा मुना मेरै लागि आइपुग्थ्योएउटा महिना त बिहानै आउनु पर्ने मुना आएन। बुबाले साँझ अफिस बाट फर्कदा किनेर ल्याउने आश्वासन पाएपछि सान्‍त्‍वना मिलेको थियो। तर पनि दिनभर पढ्न नपाएकोले खुत्रुक्‍के बाट पांच रुपैया निकालेर पत्रिका आफै किनेर ल्यादिउँसो बुबालाई फोन गरे छिट्टै पत्रिका ल्याउनु पनि भने मलाई लाग्थ्यो ठाउ पिच्‍छे मुना फरक फरक निस्कन्छभित्रक सामग्री पनि बेग्लैबेग्लै होलान्। आफूले किनेको त पढियो अब बुबाले ल्याउने मुना पढ्न आतुर थिए तर पछि पो दुवै उस्तै देखेर दु:खी भएँ।  


मेरा विद्यार्थीहरुको मौखिक परीक्षाका लागि आउनु भएका मुनाका प्रथम सम्पादक लक्ष्मीनाथ शर्मासँग अध्‍यापकको हैसियतले भेट भएका बखत बाल्‍यकालका मेरा हर्कत सुनाएँ। हाँसोको फोहरा फुट्यो। नसोचेको तर मीठो भेटघाटले मलाई फेरी बाल्यकाल कै धेरै कुराहरुको याद दिलायो

म महेन्‍द्र भवनमा पढ्थें। कक्षा ८ का विद्यार्थीहरुले हरेक दिन बिहानी प्रार्थना लगत्तै एकएक जनाले सबै सामु आएर एउटा बिषय आफ्‍नो वक्‍तृत्‍वकला प्रस्‍तुत गर्नुपर्ने भयो। मैले आमा बिषयमा बोल्‍न पर्ने। असाध्‍यै डराउने मान्‍छे तर जसोतसो आफ्‍नो पालो पुर्याएँ। थोरै ताली पाइयो अनि तीन सय रुपैया पुरस्कार पनि खामभित्रको पुरस्कार दौडदै घर आएर बुबालाई दिएत्यह बोलेक कुरा स्कूलको पत्रिकाम पनि पुरस्कृत भनेर छापिदा बाऊ-छोरी-आमा तीनै दङ्ग पर्यौ। हरेक पीडामा पुकारिने आमाप्रति समर्पित यही नै मेरो पहिलो पुरस्‍कार थियो।





एक पटक स्‍कूलमै हुँदा साङ्गीतिक समूह खोल्‍ने लहडी काम पनि गरियो। हाम्रो ब्‍याण्‍डको नाम गूड गर्लस् अर्थात असल केटीहरु। हामी ८ जना थियौं। एस. एल. सी. पछि सबै आफ्‍नो आफ्‍नो बाटो लागे। म व्‍यवस्‍थापन संकायतर्फ लागें अरुले बिज्ञान बिषय चुने। आधाजसो त अमेरीका मै छन्। सामाजिक संजालहरुमार्फत् भेटघाट हुन्‍छ। सबैभन्‍दा पुरानो साथीमा चन्‍दा दवाडी निरन्‍तर सम्‍पर्कमा रहे पनि सात समुन्‍द्र पार नै छिन्। बिवाहमा बोलाउन नपाउँदा खिन्‍न लागेको छ।

सानैमा, अभिभावक दिवसको दिन सँगै नाच्‍नुपर्ने एक जना केटाले मलाई रिस उठाए पछि अभिनयको बहानामा उसको कान बेस्कन निमोठेको सम्‍झँदा अहिले पनि हाँसो उठ्छ।  

यतिबेलासम्‍म गाडी तीनकुनेबाट घरतर्फ मोडिसकेको थियो। घर छेउको चौरकमा स-साना भाइहरु कराँते खेल्‍दैछन्। आफ्‍ना छोराछोरी तन्‍दुरुस्‍त रहुन् भनेर बुबाले मलाई कलात्‍मक र आत्‍मरक्षाका लागि कहलिएको उस्सू मा भर्ना गरिदिनु भएको थियो। बिहान उठ्न असाध्‍यै अल्‍छी लाग्‍ने तर अब चाँडै उठ्न थालें। एकाबिहानै पूजापाठ सकाउने मेरी आमा छोरी चाँडै उठेको देखेर दङ्ग। तर सिकाउने गुरु चै बिवाह गरेर अन्‍तै सरेका कारणले त्‍यो सपना अधुरै रह्यो।

घर आइपुग्‍यो! आमा बाटो हेरेर बस्‍नु भएको रहेछ। वरपरका कुकुरहरु भुक्‍न थाले। यी सबै मलाई आफ्‍नै जस्‍ता लाग्‍छन्। धूपदानको खरानी ताजै छ। यसको मतलव पूजापाठ भर्खरै सकियो। कोठाहरु मग्‍मगाएका छन्। यो घरमा म हुर्किएको हुँ।

बहिनीको कोठा कानुनका किताबले भरिएका छन्।

बहिनी जन्‍मदा आमा बुबाको माया बाँडिने भो भनेर खूब रोएको थिएँ रे। छोरीले चित्‍त दु:खाएको देखेरै होला, बुबा राती मेरो सिरानमा चकलेटहरु राखिदिनु हुन्‍थ्‍यो। म दङ्ग पर्थे, सबै भुल्‍थें। आज मेरी बहिनी हितैषी मित्र बनेकी छे। पत्रपत्रिकासँग उसको पनि साईनो छ। हाम्रो कुरा मिल्‍छ।  उसको कोठामा अंग्रजी पत्रिका छरपष्‍ट छन्। अंग्रजी दैनिक द राइजिंग नेपालमा मेरा आखाँ अडिए।



सानैमा, द राइजिंग नेपालको बाल-संस्‍करणका लागि आधा दर्जन लेख लेखियो तर कहिल्‍यै प्रकाशित भएन। राष्ट्रिय पत्रिकामा लेख छापिएको हेर्ने मेरो आशा अधुरै रह्यो। सायद यसैको चोटले होला श्रोताका लेख रचना प्रसारणमा कुनै कमजोरी नरहोस् भन्नेमा म आज पनि सचेत छु।
 
एकचोटी अंग्रेजी ग्रामाले (हामीले गुरुआमा लाई बिगारेर ग्रामा भन्न थालेका थियौ) मलाई किताब भित्र वेभ पत्रिका पढ्दै गरेको भेट्टाएर त्यही पत्रिकाका केहि पन्ना उच्‍च स्वरले पढन लगाउनु भएको थियो पाउन त सजाय पाएको तर सानै देखि रेडियोमा बोल्छु भन्ने उद्यश्य लिएको, त्यसरी अंग्रेजीमा लो स्वरले पढ्न पाउदा सजायँ त रोमांचक पो लाग्‍यो।

बिस्तारै कलेज पढ्न थालेपछि कक्षा ११ को शुरुमै रेडियोमा बोल्न थालियो तर छोरीले यति छिटै काम गर्न थालेकोमा बुबालाई चित् बुझेको थिएनपढाई सक्नुपर्छ नत्र पढाई बिग्रन्छ भन्ने बुबालाई लागेको थियो नभन्दै ११ मा सर्वोतकृष्‍ट भएको तर १२ मा दोस्रो श्रेणीमा झरें। तर जब रेडियो मा राम्रो गर्न थाले, प्रशंसा बटुल्‍न थालें,  बुबालाई पनि छोरीको कामप्रतिको मोहको लागि गुनासो कम हुनथाल्यो त्यतिबेला वहाँले मेरा रेडियो कार्यक्रमलाई किनेर ल्याएका किताबहरु/पत्रपत्रिकाहरु मसग अझै सुरक्षित छन्। 



बुबाको कोठामा संकलित पत्रिकाहरुका पानामा मेरो इतिहाँस लुकेको छ। त्‍यहाँ सजिएका पुस्‍तकहरु हाम्रो दिनचर्याका साक्षी हुन्। आज बुबाको अनुमतिमा केही पुस्‍तकहरु आफ्‍नो घर लैजादै छु। तिनै आउने पुस्‍ताका पथप्रदर्शक हुन् र त्‍यहाँ छरिएका वर्णविन्‍यास, शब्‍द संकेत र चिन्‍हहरु नै नवयुगको शिलास्‍तम्‍भ हुन्।     




दिनभर हावाहुरी र हुण्‍डरी चलिरह्‍यो। आमाको हातको खाजा खाइयो। बुबा अफिस लाग्‍नु भयो। भाइ दिउँसो आइपुग्‍यो। दिनभर आमा छोरीको गफ चलिरह्यो। बेजोडसँग पानी परिरह्यो। 

अनिल (श्रीमान्) लिन आउँदा खुलिसकेको आकाश र साँझ गोधुलिमय थियो।